काठमाडौं, २० असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (शनिबार) विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका केही क्षेत्रमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुने तथा गण्डकीका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।













