काठमाडौँ, १९ असार । देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बर्डफ्लु फैलिएको क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने भएकाले बिरामी, सङ्क्रमित वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न अनुरोध गरिएको छ।
उनले पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र सेवन गर्न तथा मरेका पन्छी फेला परेमा तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन आग्रह गरेका छन्। पशु सेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भइसकेको छ।
बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसका कारण हुने सङ्क्रामक रोग हो। सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सर्न सक्ने भए पनि व्यक्ति–व्यक्तिबीच भने यो रोग सहज रूपमा फैलिने सम्भावना कम रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सङ्क्रमित पन्छीलाई छुँदा, समात्दा, पन्छीको दिसा वा सिगानसँग सम्पर्क हुँदा, पन्छी राखिएको स्थान सफा गर्दा वा पर्याप्त रूपमा नपाकेको सङ्क्रमित पन्छीको मासु सेवन गर्दा मानिसमा संक्रमण हुन सक्छ।
मानिसमा संक्रमण भए ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने वा पखाला लाग्ने जस्ता लक्षण देखिन सक्ने मन्त्रालयले जनाएको छ। यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ।












