काठमाडौं, १६ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ निजामती कर्मचारीसँग स्पष्टीकरण मागेको छ ।
मन्त्रालयका अनुसार स्वीकृत बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरेको पाइएकाले उनीहरूलाई १५ दिनभित्र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।
निजामती सेवा ऐनअनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन् ।
मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता कायम गर्न यस्ता गतिविधिमाथि निगरानी कडा पारिएको बताउँदै विदेशमा बसोबास गरिरहेका तथा सम्पर्कविहीन अन्य कर्मचारीबारे पनि अध्ययन र खोजी कार्य तीव्र बनाइएको जानकारी दिइन् ।














