काठमाडौं, १५ असार । नेपाल रेडक्रस सोसाइटीले संस्थाको तटस्थता, विश्वसनीयता र सांगठानिक सुधार कायम राख्न सक्रिय राजनीतिमा संलग्न व्यक्तिहरूलाई रेडक्रसका सबै तहका पदबाट अलग हुन आग्रह गरेको छ ।
केन्द्रीय कार्यालयले जारी गरेको अपिलमा राजनीतिक दल वा भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरू रेडक्रसका कुनै पनि समिति, आयोग वा उपसमितिमा बस्न नपाउने संशोधित विधानको व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
राजनीतिक हस्तक्षेपका कारण अन्तर्राष्ट्रिय रेडक्रस महासंघ -आईएफआरसी)ले समेत प्रतिबन्धको चेतावनी दिएको उल्लेख गर्दै रेडक्रसले दोहोरो भूमिकामा रहने व्यक्तिलाई नकारात्मक सूचीमा राखी कारबाही गरिने जनाएको छ ।
साथै, कुनै पदाधिकारी राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध रहेको जानकारी भए प्रमाणसहित उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।
डा. विशालकुमार भण्डारी नेतृत्वको तदर्थ समितिले संस्थालाई राजनीतिक प्रभावबाट मुक्त गरी रेडक्रसको छवि र अन्तर्राष्ट्रिय विश्वसनीयता सुदृढ बनाउने उद्देश्यसहित यो अभियान अघि बढाएको जनाएको छ ।















