काठमाडौं, १५ असार । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको हरेक गतिविधिलाई आम जनताले निरन्तर मूल्यांकन गरिरहेको भन्दै जिम्मेवार, अनुशासित र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
संघीय संसद् सचिवालयले सिंहदरबारमा आयोजना गरेको दुई दिने सांसद अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उनले कार्यक्रममा सांसदहरूको न्यून तथा ढिलो उपस्थितिप्रति असन्तुष्टि जनाए ।
उनले राम्रो कानुन निर्माण, सभ्य व्यवहार र प्रभावकारी प्रस्तुतिमा सांसदहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।
सभामुख अर्यालले अभिमुखीकरणका क्रममा मोबाइल चलाउने, आपसमा गफ गर्नेभन्दा सिकाइमा केन्द्रित हुन आग्रह गर्दै दुई दिने तालिमको प्रभाव आगामी संसद् बैठकमा देखिनुपर्ने उल्लेख गरे ।














