जनकपुर, १३ असार । जनता समाजवादी पार्टी -जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता पुनरावलोकन र प्रदेश खारेजसम्बन्धी कुनै पनि निर्णय स्वीकार्य नहुने बताएका छन् ।
शनिबार जनकपुरमा आयोजित कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र, प्रदेश व्यवस्था र समावेशितामाथिको कुनै पनि प्रहारको कडा प्रतिवाद गरिने चेतावनी दिए ।
रास्वपाले महाधिवेशनबाट पारित गरेको संघीयता पुनर्संरचना र प्रदेश सभा खारेजको प्रस्ताव कार्यान्वयनमा लगे मधेशी जनता र जसपा नेपाल आन्दोलनमा उत्रिने उनले बताए ।
यादवले संघीयता मधेशी जनताको बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै आवश्यक परे फेरि आन्दोलन गर्न तयार रहन आह्वान गरे ।
साथै उनले नेता–कार्यकर्तालाई संगठन सुदृढ बनाउन, आगामी निर्वाचनको तयारी गर्न र सामाजिक सञ्जालमार्फत पार्टीका नीति तथा गतिविधि प्रभावकारी रूपमा जनतामाझ पु¥याउन निर्देशन दिए ।














