विराटनगर, १० असार । जनता समाजवादी पार्टी -जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई पदमुक्त गर्ने तयारी गरेको छ ।
अशोक राई नेतृत्वको नयाँ दलमा सनाखत गरेको आरोप लगाउँदै पार्टीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिएपछि लिम्बूमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको हो ।
जसपा नेपालका नेताहरूले उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । यता लिम्बूले आफू कुनै नयाँ पार्टीमा नगएको दाबी गर्दै अन्यायपूर्ण कारबाही भए कानुनी उपचार खोज्ने चेतावनी दिएकी छन् ।
दल विभाजन हुँदा आफू सुरुदेखि आबद्ध समूहकै पक्षमा रहेको उनको भनाइ छ ।














