काठमाडौं , असार २ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका नेता कृष्णप्रसाद सिटौला बीच झापामा भेटवार्ता भएको छ।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार सोमबार झापाको धुलाबारीमा दुई नेताबीच केही समय एकान्त (वान टु वान) वार्ता भएको थियो। भेटका क्रममा पार्टीभित्र देखिएका आन्तरिक समस्या संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने तथा एकतालाई थप सुदृढ बनाउनुपर्ने विषयमा छलफल भएको जनाइएको छ।
दुवै नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न सोमबार बिहान झापा पुगेका थिए। उनीहरू दुवै झापाकै नेता हुन्।
पार्टीभित्रको विवाद चर्किएको र नेतृत्वको विषयमा मतभेद कायम रहेका बेला दुई नेताबीच भएको यो भेटलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष महाधिवेशनपछि पार्टीको नेतृत्वलाई लिएर देखिएको असन्तुष्टि अझै पूर्ण रूपमा समाधान हुन सकेको छैन।














