काठमाडौं, ६ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।
यसअघि गत शुक्रबार तय गरिएको विश्वासको मत लिने कार्यसूची जसपा नेपालका सांसदले फ्लोर क्रस गर्न सक्ने आशंकापछि स्थगित गरिएको थियो ।
अब विश्वासको मत लिने मिति जेठ ८ गतेका लागि तय गरिएको छ । कांग्रेस, जसपा नेपाल, लोसपा र नेकपाबीच मुख्यमन्त्री यादवलाई निरन्तरता दिने सहमति भए पनि जसपा–लोसपा एकीकरणपछि बनेको नयाँ समीकरणका कारण अन्योल देखिएको थियो ।
मुख्यमन्त्री यादवले विश्वासको मत पाउने विषय अनिश्चित बनेपछि कांग्रेस र एमालेबीच केन्द्रीय तहमा छलफल भएको थियो । सोही सहमतिअनुसार एमालेले पनि यादवलाई समर्थन गर्ने भएको बताइएको छ ।
यस विषयमा कांग्रेसका नेता गगन थापा र विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली सँग छलफल गरेका थिए । बुधबार साँझ मधेसका कांग्रेस नेता तथा सांसदहरूसँग पनि यसबारे थप परामर्श हुने जनाइएको छ ।














