काठमाडौं, १० मंसिर । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल १२ दिने भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कने भएको छ।
रास्वपा महामन्त्रीको नेतृत्वमा रहेको टोलीले नोभेम्बर १५ देखि २६ सम्म बेइजिङ, छेन्दु र हाङझाउलगायतका सहरको भ्रमण गरेको थियो। भ्रमणका क्रममा सीपीसीका वरिष्ठ नेता ली शुलेईसँग डेढ घण्टा भेटवार्ता गर्दै दुई दलबीच आपसी समझदारी र सहकार्यबारे छलफल भएको थियो।
भ्रमण टोलीले चिनियाँ विश्वविद्यालय, औद्योगिक प्रतिष्ठान तथा भूकम्पपछिको पुनर्निर्माण क्षेत्रको अवलोकन गरेको थियो। साथै नेपाली उत्पादनको बजार विस्तार, लगानी, ऊर्जा, पर्यटन र युवा सीप विकासका विषयमा चिनियाँ निजी क्षेत्रसँग छलफल गरिएको रास्वपाले जनाएको छ।
संसदीय दलका उपनेता गणेश पराजुलीले भ्रमणले दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार र सहकार्यका नयाँ सम्भावना पहिचान गर्न सहयोग पुगेको बताएका छन्।














