धनुषा, १० मंसिर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विशेषज्ञ स्वास्थ्य सेवा सुरु गरेको छ।
बुधबार वडा नम्बर १ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुरु भएको अभियानको उद्घाटन नगरप्रमुख सुखदेव यादवले आफैँ स्वास्थ्य परीक्षण गराएर गरेका हुन्।
कार्यक्रममा वरिष्ठ जनरल फिजिसियन डा. पंकजकुमार साहले ज्येष्ठ नागरिक तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा प्रेसर, सुगर, मुटु तथा मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई आवश्यक परामर्शसँगै नियमित औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।
नगरपालिकाका अनुसार वडा नम्बर १ देखि १० सम्म स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिनेछ। परीक्षणपछि सेवाग्राहीलाई स्वास्थ्य कार्ड उपलब्ध गराइने र उक्त कार्डका आधारमा सुगर, प्रेसर तथा कोलेस्ट्रोलजस्ता दीर्घरोगका बिरामीलाई नगरपालिकामार्फत निःशुल्क औषधि प्रदान गरिनेछ।














