काठमाडौं, १० मंसिर । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आइतबारदेखि देशका सातै प्रदेशमा नीति तथा नेतृत्वसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार संगठन सुदृढीकरण, पार्टीको नीति र नेतृत्व विकासलाई केन्द्रमा राखेर प्रशिक्षण आयोजना गर्न लागिएको हो।
कार्यक्रममा पार्टीको केन्द्रीय नेतृत्वसमेत सहभागी हुनेछ। प्रशिक्षणका क्रममा संगठन विस्तारसँगै आगामी स्थानीय तह निर्वाचनको तयारीबारे पनि छलफल गरिने प्रवक्ता खरेलले जानकारी दिए।
उनका अनुसार कार्यक्रमको खाका तयार भइसकेको छ भने शनिबारसम्म आवश्यक तयारी पूरा गरिनेछ।














