काठमाडौं, १० मंसिर । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरेपछि देउवा पक्षले सञ्चालन गरिरहेको समानान्तर गतिविधिमाथि कानुनी प्रश्न उठेको छ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले एउटै पार्टीको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गरेर समानान्तर गतिविधि सञ्चालन गर्नु अनधिकृत हुने बताएका छन्। उनका अनुसार यस्तो गतिविधि रोक्न निर्वाचन आयोग र स्थानीय प्रशासनले आवश्यक कदम चाल्नुपर्छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि देउवा पक्षको समानान्तर गतिविधिविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने तयारी भइरहेको बताएका छन्। पार्टीको आधिकारिकता अद्यावधिक भइसकेपछि नाम र झन्डाको दुरुपयोग रोक्न प्रशासनिक पहलसमेत गरिने उनको भनाइ छ।
यता निर्वाचन आयोगका एक पदाधिकारीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ अनुसार दलको नाम तथा चुनाव चिह्न दुरुपयोग भएको उजुरी परे कानुनबमोजिम प्रक्रिया अघि बढाइने बताएका छन्।














