काठमाडौं, ६ जेठ । भारतले नेपाली चियामा लागू गरेको अनिवार्य नमुना परीक्षण (कम्पल्सरी स्याम्पलिङ) व्यवस्था फिर्ता लिएपछि तीन सातादेखि अवरुद्ध चिया निर्यात पुनः सहज भएको छ ।
भारतको ‘टी बोर्ड अफ इन्डिया’ ले नयाँ संशोधित सूचना जारी गर्दै आन्तरिक बजारका लागि आयात हुने चियामा अनिवार्य परीक्षण नगर्ने निर्णय गरेको हो । यससँगै बुधबारदेखि नेपालबाट भारततर्फ चिया निकासी पूर्ववत् रूपमा सञ्चालन हुन थालेको छ ।
परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासको पहलपछि समस्या समाधान भएको बताइएको छ । नयाँ व्यवस्थाअनुसार अब भन्सार वा भारतीय खाद्य सुरक्षा निकायले आवश्यक परे मात्र छड्के नमुना परीक्षण गर्न सक्नेछन् ।
नेपाल चिया उत्पादक संघका पदाधिकारीहरूले भारतको निर्णयले किसान तथा व्यवसायीलाई राहत मिलेको बताएका छन् । यसअघि भारतले प्रत्येक ट्रकको नमुना परीक्षण अनिवार्य गरेपछि चिया निर्यात प्रभावित बनेको थियो ।














