काठमाडौं, १७ वैशाख । बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले बस्ती खाली गर्ने तयारीलाई तीव्र बनाएका छन् ।
प्रशासनको सूचनापछि उनीहरूले बिहानैदेखि आफ्ना घरका सामानहरू सार्न सुरु गरेका हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै १८ वैशाख बिहान ७ बजेदेखि काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्तीहरू खाली गराइने जनाएको थियो।
सोही सूचनापछि प्रभावित क्षेत्रका बासिन्दाहरू स्वेच्छिक रूपमा स्थान खाली गर्ने तयारीमा जुटेका छन् । प्रशासनका अनुसार सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका अनधिकृत बस्तीहरूलाई मानवीय ढंगले हटाइनेछ।
साथै, बाढी तथा अन्य विपद् जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ । यसअघि पनि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रका नदी किनारका बस्तीहरू खाली गराइसकिएको प्रशासनले जनाएको छ ।














