घोराही, ६ चैत । जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानअनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके, कपिलवस्तु र रुपन्देही लगायतका जिल्लामा तीव्र हावाहुरीसँगै वर्षा भएको छ ।
हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो भने बजार क्षेत्रमा सवारीसाधन बत्ती बालेर गुड्न बाध्य भएका थिए । दाङको तुलसीपुर, घोराही र लमही क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको थियो।
हाल केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । अहिलेसम्म ठूलो क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । विभागले लुम्बिनीपछि शनिबार कोशी प्रदेशका केही जिल्लामा पनि हावाहुरी चल्ने चेतावनी दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले तीव्र हावाहुरी, वर्षा र सम्भावित जोखिमका कारण सतर्क रहन आग्रह गरेको छ ।














