एन्जेसी, ५ चैत । चीनले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी राष्ट्रिय सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाको कडा निन्दा गर्दै यसलाई ‘अस्वीकार्य’ ठहर गरेका छन् ।
बेइजिङ इरानको साझेदार भए पनि अमेरिकी सैन्य अड्डा भएका खाडी राज्यहरूमाथि तेहरानले गरेको आक्रमणको पनि आलोचना गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले पत्रकार सम्मेलनमा उनले सम्बन्धित पक्षहरूलाई तत्काल सैन्य कारबाही बन्द गर्न र क्षेत्रीय स्थिति नियन्त्रण बाहिर जानबाट रोक्न आग्रह गरे ।
फेब्रुअरी २८ मा सुरु भएको युद्धका क्रममा सर्वोच्च नेता अली खामेनी र अन्य वरिष्ठ व्यक्तिहरूको मृत्युपछि लारिजानी मारिने सबैभन्दा उच्च प्रोफाइल इरानी अधिकारी रहेको थियो । चीनले यस घटनापछि आफ्नो मध्यपूर्वीय विशेष दूत झाई जुनको भ्रमणलाई विशेष महत्त्व दिएको छ ।
उनले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत र इजिप्टमा शीर्ष अधिकारीहरूलाई भेटेर युद्धमा मध्यस्थता प्रयास गरिरहेका छन् । प्रवक्ता लिनका अनुसार झाईले भ्रमणमा गैर–सैन्य लक्ष्यहरूमा आक्रमण नगर्न र ढुवानी लेनहरूको सुरक्षा सुनिश्चित गर्न जोड दिएका छन् । चीनले बेइजिङबाट जारी कूटनीतिक प्रयासलाई जारी राख्ने बताएको छ र इरान, लेबनान, जोर्डन र इराकमा मानवीय सहायता प्रदान गर्ने निर्णय गरेको छ ।














