विराटनगर, ३० फागुन । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त समानुपातिक चार सिटका लागि सांसदको नाम टुङ्ग्याएको छ ।
पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार समानुपातिकतर्फ आदिवासी महिलाबाट मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई सिफारिस गरिएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै चार सिट सुरक्षित गरेको थियो ।
उम्मेदवार छनोटको विषयमा केही समय आन्तरिक विवाद देखिए पनि अन्ततः नाम टुङ्ग्याइएको पार्टीले जनाएको छ । प्रत्यक्षतर्फ भने श्रम संस्कृति पार्टीले खोटाङ, भोजपुर र सुनसरी–१ मा गरी तीन सिट जितेको छ ।
साथै समानुपातिकमा थ्रेसहोल्ड कटाउँदै पार्टीले राष्ट्रिय दलको हैसियतसमेत हासिल गरेको छ ।














