महोत्तरी, १ढ फागुन । बर्दिवास नगरपालिका–१ स्थित रातो पुलमाथि प्लास्टिकको डल्लो वा बलजस्तो देखिने शंकास्पद वस्तु फेला पर्दा स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार पुलमाथि बेवारिसे अवस्थामा रहेको उक्त वस्तुलाई एक युवकले खेल्ने क्रममा बलझैँ हान्दा अचानक विस्फोट भएको हो ।
विस्फोटपछि केहीबेर क्षेत्र तनावग्रस्त बनेको थियो । प्रारम्भिक जानकारीअनुसार मानवीय क्षतिको विवरण खुल्न बाँकी रहेको छ भने सुरक्षाकर्मीले तत्कालै क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणको आवतजावत रोकेका छन् ।
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ र बाँकी रहेको अर्को शंकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय पार्ने (डिस्पोज) तयारी भइरहेको जनाइएको छ ।
सुरक्षाका लागि पुल आसपासको क्षेत्र सिल गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । विस्फोटक पदार्थ कसले र किन राखेको भन्ने विषय खुल्न सकेको छैन ।














