काठमाडौँ, १५ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता समेत निगरानीमा राखेको छ ।
निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने निर्देशन उल्लंघन भइरहेको भन्दै आयोगले निगरानी कडा बनाएको हो । केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक सगुन शमशेर जबराका अनुसार उम्मेदवारले पुराना खातामार्फत खर्च गर्न सक्ने सम्भावना देखिएपछि परिवारका खातासमेत अनुगमन गरिएको हो ।
यसका लागि नेपाल राष्ट्र बैंकसँग पत्राचार भइसकेको उनले बताए । बैंकिङ प्रणाली प्रयोग नगरी निर्वाचन खर्च गर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघनअन्तर्गत कानुनअनुसार कारबाही गरिने चेतावनी आयोगले दिएको छ ।
आवश्यक परे ब्ल्याकलिस्टमा राखेर निर्वाचन कसुरसम्बन्धी ऐन अनुसार कारबाही हुन सक्ने पनि जनाइएको छ । उम्मेदवारको खर्च अनुगमन जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रशासनमार्फत भइरहेको आयोगले जनाएको छ ।
आयोगले सबै पक्षलाई आचारसंहिताको पूर्ण पालना गरी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छ ।














