जनकपुर, २ फाल्गुन । नेपाली कांग्रेसका मधेश प्रदेश सांसद तथा धनुषा निर्वाचन क्षेत्र नं. ४ का क्षेत्रीय सभापति कुमरकान्त झाले आगामी निर्वाचनमा धनुषा–४ बाट कांग्रेस उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
केपी बहस कार्यक्रमका प्रस्तोता प्रवेश साह सँगको अन्तर्वार्तामा बोल्दै सांसद झाले कांग्रेस अहिले आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढेको बताए ।
“हामी सुध्रियौँ, अब देश सुधार्ने अभियानमा छौँ,” उनले भने । उनले धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा उम्मेदवार महेंद्र यादवले अघि सारेका एजेन्डा व्यवहारिक र जनमुखी रहेको उल्लेख गरे ।
विशेषगरी ‘बिजुली बिल निःशुल्क गरिने’ प्रतिबद्धता कार्यान्वयनयोग्य रहेको उनको दाबी छ । “महेंद्र यादव धनुषा–४ बाट विजयी हुने निश्चित छ,” झाले स्पष्ट पारे ।
अन्तर्वार्तामा उनले आफूले राजनीतिक संघर्षका क्रममा पटक–पटक जेल जीवन समेत भोग्नुपरेको स्मरण गर्दै कांग्रेसको संघर्ष र त्यागकै कारण लोकतन्त्र मजबुत बनेको बताए ।
सांसद झाले सर्लाहीबाट कांग्रेस नेता गगन थापा भारी मतले विजयी हुने दाबी समेत गरे । साथै, विपक्षी दलहरूमा आन्तरिक विवाद र आधारहीन हल्ला फैलाउने प्रवृत्ति बढेको आरोप लगाए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमाथि विभिन्न मुद्दा लागेको उल्लेख गर्दै उनले प्रश्न गरे, “यति धेरै विवादमा मुछिएको नेतृत्वलाई जनताले कसरी विश्वास गर्ने ?” उनका अनुसार घण्टी चिन्हलाई लिएर फैलाइएका हल्ला केवल हावाको भरमा मात्रै छन् ।
उनले अन्त्यमा मधेशमा कांग्रेसप्रतिको जनसमर्थन अझ बलियो बन्दै गएको र यसपटकको निर्वाचनले त्यसलाई पुष्टि गर्ने विश्वास व्यक्त गरे ।














