काठमाडौं, १ फाल्गुन । जनता समाजवादी पार्टी नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गर्नुभयो । घोषणापत्रमा निःशुल्क शिक्षा र स्वास्थ्य, भ्रष्टाचारमुक्त राज्य, वैज्ञानिक कृषि आधुनिकीकरण, पूर्वाधार विकास र सामाजिक न्यायलाई प्रमुख प्राथमिकता दिइएको छ ।
संविधान संशोधन गरी पहिचान र सामथ्र्यमा आधारित संघीयता कार्यान्वयन, जनलोकपाल गठन र नगदरहित अर्थतन्त्र लागू गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।
जसपाले हरेक प्रदेशमा सुपर स्पेसियालिटी अस्पताल स्थापना, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा र शिशुदेखि विश्वविद्यालयसम्म निःशुल्क शिक्षा सुनिश्चित गर्ने जनाएको छ ।
भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता नीति अपनाउँदै २०४७ सालयता पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने उल्लेख छ । कृषि क्षेत्रमा वैज्ञानिक चक्लाबन्दी, सहकारी खेती र यान्त्रीकरणमार्फत पाँच वर्षमा ५० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
साथै महिला, दलित, युवा तथा सीमान्तकृत समुदायका लागि विशेष आरक्षण र समान अधिकारको व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।














