जनकपुर, २८ माघ । रौतहट जिल्लाको बाल चन्दपुर निवासी बेगु पासमानले प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
जनकपुरमा आयोजित एक विशेष कार्यक्रममा जसपा नेपालका पूर्व मन्त्री तथा महोत्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार शरद सिंह भण्डारीले नवप्रवेशी पासमानलाई माला र गम्छा लगाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै बेगु पासमानले रौतहट क्षेत्र नम्बर ४ का जसपा उम्मेदवार राजकुमार दास तत्मालाई साथ र सहयोग गर्ने उद्देश्यले आफू जसपामा समाहित भएको स्पष्ट पारे ।
उनले राजकुमार दास तत्मा दलित समुदायका एक इमानदार, संघर्षशील र लोकप्रिय नेता भएको उल्लेख गर्दै उनको जितका लागि आफ्नो सम्पूर्ण प्रयास रहने प्रतिबद्धता जनाए ।
पासमान दलित अधिकार र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन् । उनी यसअघि सिल्पी संघका अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।
कार्यक्रममा मधेश प्रदेशका पुर्ब मन्त्री सुरिता साह लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।















