जनकपुर, २७ माघ । उज्यालो नेपाल पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सर्जन राकेश मण्डलले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा राख्दै महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
उनी अहिले गाउँ–गाउँ र टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन् । चुनावी सभाहरुलाई सम्बोधन गर्दै मण्डलले विगतमा जनताको अपेक्षा अनुसार काम हुन नसकेको भन्दै अबको राजनीति भाषणमा सीमित नभई परिणाममुखी हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र रोजगारीलाई क्षेत्रका मुख्य समस्या भन्दै ती क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए । मण्डलले युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्थाको अन्त्य गर्न स्थानीय तहमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण र सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिने बताए ।
‘हाम्रो भूमि उर्वर छ, हाम्रो युवा सक्षम छन्, आवश्यक छ त केवल इमानदार नेतृत्व र सही नीति,’ उनले भने । भ्रष्टाचार, ढिलासुस्ती र सत्ताको दुरुपयोगविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने उल्लेख गर्दै उनले जनप्रतिनिधि बनेपछि सार्वजनिक खर्च, योजना छनोट र कार्यान्वयनमा पूर्ण पारदर्शिता अपनाइने स्पष्ट पारे।
उनले भने, ‘जनताको करको पैसा जनताकै सेवामा लाग्नुपर्छ । मधेशका दलित, महिला, पिछडावर्ग, किसान र श्रमिकको हकहितका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाउँदै मण्डलले सबै नागरिकलाई राज्यका नीति तथा सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य रहेको बताए ।
उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बल्ब’लाई केन्द्रमा राख्दै ‘घरघर बल्ब, सबतर बल, सबके बल’ भन्ने नारासहित जनचेतना अभियान सञ्चालन भइरहेको छ ।
यस अभियानमार्फत विकास, चेतना र आशाको उज्यालो फैलाउने उद्देश्य रहेको उनको भनाइ छ । महोत्तरी–२ मा मण्डलको सक्रियता र घरदैलो अभियानसँगै स्थानीयस्तरमा चुनावी माहोल थप तातेको छ ।
मतदाताले नयाँ सोच र वैकल्पिक राजनीतिलाई कसरी लिन्छन् भन्ने विषय आगामी निर्वाचनले निर्धारण गर्नेछ ।














