काठमाडौँ, २५ माघ । नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको हो । अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त, शुभेच्छुकहरू तथा कलाकारिताका सहकर्मीहरूको उल्लेख्य उपस्थिति थियो ।
वरिष्ठ कलाकार निर शाह, संगीतकार शम्भुजित बासकोटालगायतले पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपाली चलचित्र तथा रंगमञ्चमा लामो समय योगदान दिएका थापा आफ्नो अभिनय क्षमता, अनुशासन र सरल व्यक्तित्वका कारण दर्शक तथा सहकर्मीहरू माझ अत्यन्त सम्मानित थिए । उहाँको निधनले नेपाली कला क्षेत्रले एक अनुभवी र प्रेरणादायी व्यक्तित्व गुमाएको छ ।














