काठमाडौं, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले जिल्ला जिल्लामा मतपेटिका तथा आवश्यक निर्वाचन सामग्री पठाउन सुरु गरेको छ ।
आयोगले काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका मतदान केन्द्रतर्फ मतपेटिका ढुवानी प्रक्रिया अघि बढाएको हो । निर्वाचन आयोगको बहादुर भवनस्थित कार्यालयबाट शनिबार करिब ९५० थान मतपेटिका (ब्यालेट बक्स) तथा अन्य निर्वाचन सामग्री काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन कार्यालयमा पठाइएको आयोगले जनाएको छ ।
यससँगै निर्वाचनको भौतिक तयारी औपचारिक रूपमा तीव्र बनेको छ । उम्मेदवारी दर्ता सम्पन्न भएसँगै राजनीतिक दल तथा उम्मेदवारहरू चुनावी प्रचार–प्रसारमा सक्रिय भएका छन् ।
सोहीअनुसार निर्वाचन आयोगले पनि तोकिएको मितिमा निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रशासनिक तथा प्राविधिक तयारीलाई तीव्रता दिएको जनाएको छ ।
आयोगका अनुसार आगामी दिनमा थप जिल्लाहरूमा पनि चरणबद्ध रूपमा मतपेटिका र निर्वाचन सामग्री पठाइनेछ ।














