जनकपुर, २४ माघ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार हरिनारायण यादवले जनता समाजवादी पार्टी (जसपा) नेपाल र पार्टी अध्यक्ष महन्थ ठाकुरमाथि गम्भीर आरोप लगाएका छन् ।
यादव यसअघि जसपा नेपालका केन्द्रीय स्तरका नेता रूपमा परिचित थिए र महोत्तरी जिल्लामा पार्टी संगठन मजबुत बनाउन उनले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै आएका छन् ।
आफूलाई अन्याय गरिएको बताउँदै यादवले भने, “मैले सपनामा पनि सोचेको थिइनँ कि मसँग यस्तो धोका हुन्छ । महन्थ ठाकुरले मलाई छोडेर आफ्नै छोरीलाई टिकट दिनुभयो ।
लामो समय पार्टीका लागि योगदान दिँदै आए पनि अन्तिम समयमा उम्मेदवारीबाट वञ्चित गरिएपछि आफू स्वतन्त्र उम्मेदवार बनेको उनले स्पष्ट पारे ।
यादवले महोत्तरीमा जसपा नेपालको संगठन आफूले खडा गरेको दाबी गर्दै पार्टी नेतृत्वले योगदानको मूल्यांकन नगरेको आरोप लगाए ।
“महोत्तरीमा जसपा नेपाललाई मैले बनाएको हुँ, महन्थ ठाकुरले होइन,” उनले भने । पार्टीभित्रको निर्णय प्रक्रियामा परिवारवाद हाबी भएको आरोप लगाउँदै उनले मतदातालाई यथार्थ बुझेर मतदान गर्न आग्रह गरेका छन् ।














