काठमाडौ, २३ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको छ ।
नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि हालसम्म उनीमाथि लगाइएको आरोपबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
जिल्ला प्रहरी परिसरका एक अधिकृतका अनुसार प्रसाईंलाई नियन्त्रणमा लिइएको हो, तर अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले अभियोगबारे खुलाउन नमिल्ने बताइएको छ ।
प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जनाएको छ । प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजकसमेत हुन् ।
यसअघि उनी सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । त्यसपछि उनलाई काठमाडौँ ल्याई माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो ।
यसबीच, प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो ।














