जनकपुर, २२ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालबाट ‘जातो (चकिया)’ चुनाव चिह्नसहित धनुषा-३ बाट उम्मेदवारी दर्ता गराएका राजीव झा यतिबेला चुनावी अभियानमा सक्रिय देखिएका छन् ।
उम्मेदवारी दर्तापछि झा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडा–वडामा पुगेर मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
भेटघाटका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षा सुनेका छन् । मतदातासँगको भेटमा झाले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने र क्षेत्रको समग्र विकासका लागि इमानदार प्रयास गर्ने बताएका छन् ।
स्थानीय मतदाताहरूले पनि प्रत्यक्ष भेटघाटमार्फत उम्मेदवारसँग आफ्ना कुरा राख्न पाउँदा सकारात्मक प्रतिक्रिया दिएका छन् ।
निर्वाचन नजिकिँदै जाँदा झाको चुनावी गतिविधि थप तीव्र बन्दै गएको छ ।














