काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने घाइते खुट्टाकै सहारामा बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन–२ जाने भएका छन् ।
जनकपुरको चुनावी सभामा चोट लागेपछि सार्वजनिक कार्यक्रमबाट टाढा रहेका उनी स्वास्थ्यमा पूर्ण सुधार नआउँदै चुनावी गतिविधिमा फर्किन लागेका हुन् ।
पार्टी स्रोतका अनुसार चिकित्सकको सुझावपछि दुई दिन ढिला गरेर उनी चितवन जान लागेका हुन् । खुट्टाको घाउ अझै पूर्ण रूपमा निको नभएकाले उनी तत्काल घरदैलो अभियानमा नजाने र बसेकै स्थानबाट राजनीतिक भेटघाट तथा चुनावी रणनीतिमा केन्द्रित हुनेछन् ।
गत माघ ४ मा जनकपुरमा आयोजित रास्वपाको चुनावी सभाका क्रममा उनी घाइते भएका थिए । यसैबीच, फागुन १ गतेदेखि रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले संयुक्त रूपमा देशव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ ।














