काठमाडौँ, २० पुस । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आईतवार गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, तराईका विभिन्न जिल्लामा देखिएका हिंसात्मक धार्मिक गतिविधि तथा समसामयिक सुरक्षा चुनौतीबारे विस्तृत छलफल गरिएको छ ।
गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार बैठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरूले गरेका अन्तिम तयारीबारे जानकारी लिने निर्णय गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा हुन सक्ने सम्भावित जोखिम र त्यसको न्यूनीकरणका उपायबारे पनि सुरक्षा निकायसँग छलफल गरिएको उनले बताए ।
बैठकमा पछिल्लो समय विभिन्न धार्मिक समुदायलाई लक्षित गर्दै सामाजिक सञ्जालमा फैलाइएका गलत, भ्रामक तथा उत्तेजक टिप्पणीका विषयमा विशेष ध्यान दिइएको छ ।
यस्ता गतिविधिले सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल पु¥याइरहेको निष्कर्ष निकाल्दै समितिले यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
त्यसैगरी, जिल्लास्तरमा देखिएका धार्मिक तनाव र सहिष्णुता बिगार्ने प्रयासलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्ने तथा स्थिति थप बिग्रन नदिन सक्रिय रहने निर्णय भएको छ ।
प्रदेश र स्थानीय सरकारहरूलाई पनि सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक कदम चाल्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । धार्मिक गतिविधि र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमबारे थप विस्तृत छलफल गर्न आगामी सोमबार गृहमन्त्रालयमा मानवअधिकार आयोग, अन्य संवैधानिक आयोगहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी हुने बैठक आयोजना गर्ने निर्णय पनि गरिएको प्रवक्ता काफ्लेको भनाइ छ ।
यसैबीच, जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दीहरूको खोजी तथा पक्राउलाई प्राथमिकतामा राख्दै सुरक्षा निकायले विशेष अपरेशन सञ्चालन गर्ने निर्णय पनि केन्द्रीय सुरक्षा समितिको बैठकले गरेको छ । शान्ति सुरक्षालाई मजबुत बनाउन यस्ता अपरेशनलाई निरन्तरता दिइने जनाइएको छ ।














