काठमाडौँ, १९ पुष । प्रधानमन्त्रीले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई लक्षित गर्दै देशमा लगानीका लागि सुरक्षित वातावरण सुनिश्चित गरिने स्पष्ट आश्वासन दिएका छन् ।
विगतमा भएका आन्दोलन र अवाञ्छित गतिविधिका कारण निजी क्षेत्रका संरचना जल्ने, तोडफोड हुने अवस्था अब दोहोरिन नदिइने भन्दै उनले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले सरकार गठनको मूल उद्देश्य सुशासनको जग बसाल्ने र आगामी फागुन २१ गते तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने रहेको उल्लेख गरे ।
राजनीतिक दल, युवा समूह तथा सरोकारवाला निकायसँगको निरन्तर संवाद र सहकार्यका कारण सरकारले निर्वाचनको वातावरण तयार गर्न सफल हुँदै गएको पनि उनको भनाइ थियो ।
नेपालको राजनीतिक इतिहास स्मरण गर्दै प्रधानमन्त्रीले पछिल्ला ७५ वर्षमा आधा दर्जनभन्दा बढी परिवर्तनकारी आन्दोलन र पाँच पटकसम्म संविधान निर्माण भए पनि ती परिवर्तनहरू आम नागरिकको जीवनस्तर सुधार गर्न पर्याप्त हुन नसकेको स्वीकार गरे ।














