काठमाडौं, १९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक तर्फ उम्मेदवार बनेका फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा ढकालको नाम समावेश भएपछि सामाजिक सञ्जाल र विभिन्न राजनीतिक वृत्तमा व्यापक विरोध र आलोचना सुरु भएको थियो ।
सोही विरोधका बीच उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिने निर्णय सार्वजनिक गरेका हुन् ।
फेसबुकमा जारी विज्ञप्तिमा ढकालले नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म, भावना र मान्यताको सम्मान गर्दै व्यक्तिगत कारणवश आफ्नो नाम सूचीबाट फिर्ता लिने निर्णय गरेको उल्लेख गरेका छन् । ढकालले युवाको सामूहिक नेतृत्वमार्फत सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति आफू निरन्तर प्रतिबद्ध रहने स्पष्ट पारेका छन् ।
सचिन ढकालको उम्मेदवारी फिर्तापछि रास्वपाको समानुपातिक सूची र पार्टीको निर्णय प्रक्रियामाथि थप बहस सुरु हुने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णयले पार्टीभित्रको आन्तरिक दबाब र सार्वजनिक आलोचनाको प्रभावलाई पनि संकेत गर्दछ ।














