काठमाडौँ, १८ पुस । महिला अधिकार सुनिश्चित गर्न दबाब दिने उद्देश्यले गठित महिला अधिकारका लागि दबाब अभियानले संविधानले प्रत्याभूत गरेको समानुपातिक समावेशी अधिकार कमजोर पार्ने गरी राजनीतिक कदम चालिएको आरोप लगाउँदै आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
शुक्रबार बिहान माइतीघरमा भेला भएका महिलाहरूले बानेश्वरसम्म विरोध ¥याली गर्दै समानुपातिक प्रतिनिधित्व प्रणालीको दुरुपयोग भइरहेको भन्दै राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरेका थिए ।
उनीहरूले संविधानमा उल्लेखित समानुपातिक समावेशी व्यवस्था महिलाको सहभागिता सुनिश्चित गर्नका लागि भएको भए पनि व्यवहारमा त्यसको मर्मविपरीत काम भइरहेको बताएका छन् ।
प्रदर्शनकारी महिलाहरूले समानुपातिक सूची तयार गर्दा पारदर्शिता नअपनाइएको, पहुँच र नातावादका आधारमा नाम समावेश गरिएको तथा वास्तविक रूपमा अवसर पाउनुपर्ने महिलाहरूलाई वञ्चित गरिएको आरोप लगाए ।
उनीहरूले समानुपातिक सूचीमा भएका त्रुटि तत्काल सच्याउन र महिलाको हक–अधिकार सुनिश्चित हुने गरी पुनरावलोकन गर्न राजनीतिक दलहरूलाई चेतावनीसमेत दिएका छन् ।
प्रदर्शनका क्रममा महिलाहरूले संविधानको कार्यान्वयनमा इमानदारी अपनाउन, समावेशी लोकतन्त्रको मर्म जोगाउन तथा महिला सहभागिता सुनिश्चित गर्न ठोस कदम चाल्न सरकार र सम्बन्धित निकायसँग माग गरेका थिए ।














