जनकपुर, १७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसादले एक अन्तर्वार्ताका क्रममा आफ्नो कार्यकालको एक वर्षे योजना र प्राथमिकताबारे जानकारी दिएका छन् ।
उनले प्रदेश सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै बेथिति र अव्यवस्थालाई नियन्त्रणमा ल्याउने मुख्य लक्ष्य रहेको बताए । मुख्यमन्त्री प्रसादका अनुसार विकास निर्माणका कामलाई तीव्र गतिमा अघि बढाइनेछ ।
जनताको आवश्यकता र भावनालाई बुझेर जनताकै चाहनाअनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गरिने उनले स्पष्ट पारे । विशेष गरी मधेश प्रदेशको मुख्य आधार कृषि क्षेत्र भएकाले यसलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ ।
प्रदेशका किसानलाई समयमै खाद्यान्न, मल, बीउ र आवश्यक सहयोग उपलब्ध गराउने योजना सरकारले अघि सारेको छ । शिक्षा क्षेत्रमा सुधार ल्याउने र स्वास्थ्य सेवालाई व्यवस्थित बनाउने पनि सरकारको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप सुदृढ बनाउँदै प्रदेशमै सबै प्रकारका उपचार सम्भव हुने वातावरण तयार गरिने लक्ष्य राखिएको छ । यसले गर्दा नागरिकहरू उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मुख्यमन्त्रीको विश्वास छ ।
पर्यटन क्षेत्रको विकासका लागि जनकपुरलाई केन्द्रमा राखेर योजना बनाइएको छ । धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य सरकारको रहेको छ ।
त्यसैगरी खेलकुद क्षेत्रको विकासका लागि जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने योजना पनि रहेको मुख्यमन्त्री प्रसादले जानकारी दिए ।
संघीय सरकार हाल निर्वाचन सरकार भएकाले प्रदेश सरकार निरन्तर समन्वय र सम्पर्कमा रहने उनले बताए । मधेश प्रदेश आर्थिक रूपमा कमजोर प्रदेश भएकाले आन्तरिक स्रोतको पहिचान र व्यवस्थापनलाई प्राथमिकता दिइएको र उपलब्ध स्रोतको अधिकतम उपयोग गरिने उनको भनाइ छ ।














