काठमाडौं, १७ पुस । आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ औपचारिक रूपमा सुरु भएको छ ।
विश्वभर विभिन्न देशहरूमा उल्लास, उमङ्ग र उत्साहका साथ नयाँ वर्ष मनाइएको छ । सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई स्वागत गर्ने क्रममा हिजो राति विश्वका ठूला सहरहरूमा आतिशबाजी, सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिएका छन् ।
नयाँ वर्षको अवसरमा विश्वभरका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरूले शुभकामना सन्देश जारी गर्दै विश्व शान्ति, आपसी सहकार्य, विकास र समृद्धिको कामना गरेका छन् ।
उनीहरूले नयाँ वर्षले विश्वभर देखिएका द्वन्द्व, प्राकृतिक संकट र आर्थिक चुनौतीहरूलाई पार गर्न सहयोग पु¥याओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को अन्त्य र सन् २०२६ को सुरुवातलाई विशेष अवसरका रूपमा मनाइन्छ । इस्वी संवत्को नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदान–प्रदानसँगै विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सांगीतिक कार्यक्रम, होटल तथा रेष्टुरेन्टहरूमा विशेष कार्यक्रम, तथा धार्मिक स्थलहरूमा पूजाआजा गरिएको छ ।
यसरी, विश्वभर तथा नेपालमा पनि आशा, सकारात्मकता र नयाँ संकल्पका साथ इस्वी संवत् २०२६ को स्वागत गरिएको छ ।














