काठमाडौं, १६ पोष । सिन्धुलीको बन्दिपुरका २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेका छन् ।
तामाङको शव घ्याङ्लेख गाउँपालिका–१ स्थित पिउरीखोला जंगलमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार घटनास्थलमा गोली लागेको देखिए पनि हत्या हो वा आफैं बन्दुक पड्किएर लागेको हो भन्ने विषय खुल्न सकेको छैन ।
उनको शव घरबाट करिब तीन किलोमिटर दक्षिणतर्फको जंगलमा नाइटोको भागबाट रगत बगेको अवस्थामा फेला परेको जानकारी प्रहरी चौकी अमलेले दिएको थियो । सूचना प्राप्त भएपछि रातिनै प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तीपुर र खुर्कोटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा तामाङको पेटमा गोली लागेको पाइएको छ । शव नजिकै बीच भागमा भाँचिएको एक थान भरुवा बन्दुक फेला परेको छ भने मृतकले बोकेको झोलाभित्र बारुद जस्तो देखिने धुलो तथा फलाम र सिसाका टुक्रा भेटिएको प्रहरीले जनाए । शवलाई मुचुल्का पश्चात् पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।













