जनकपुर, ११ पुस । तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेका कारण जनजीवन प्रभावित बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान तराई क्षेत्रका विभिन्न जिल्लामा बाक्लो हुस्सु–कुहिरो देखिएको जानकारी दिँदै स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार शुक्रबार बिहानको समयमा तराईका अधिकांश भूभागमा हुस्सु–कुहिरोका कारण दृश्यता घटेको छ, जसले दैनिक जनजीवनसँगै स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक असर पार्ने देखिएको छ ।
विशेषगरी बिहानको समयमा सवारी साधन चलाउँदा सावधानी अपनाउन तथा यात्रा गर्दा आवश्यक पूर्वतयारी गर्न महाशाखाले सुझाव दिएको छ ।
यसैबीच गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने हाल आकाश आंशिक बदली रहेको छ । ती प्रदेशका अधिकांश स्थानमा मौसम सामान्य रहे पनि बिहान–बेलुकाको समयमा चिसो बढेको अनुभूति गरिएको छ । हुस्सु–कुहिरोका कारण तराईका केही जिल्लामा जनजीवन कष्टकर बनेको छ ।
धनुषा लगायतका जिल्लामा चिसो बढ्नुका साथै दृश्यता कम हुँदा सर्वसाधारणको आवतजावतमा समस्या देखिएको छ । विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी प्रभावित भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजे ‘चेतावनी तथा परामर्श’ जारी गर्दै भनेको छ, “देशका तराई भूभागमा हुस्सु÷कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन अनुरोध छ ।
मौसमविद्हरूका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसकै असरस्वरूप तराई क्षेत्रमा हुस्सु–कुहिरो देखिएको हो ।
आगामी दिनमा पनि बिहानको समयमा यस्तो अवस्था केही दिनसम्म कायम रहन सक्ने भएकाले सतर्क रहन उनीहरूले आग्रह गरेका छन् ।














