जनकपुर, २७ कात्तिक । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् ।
काठमाडौंबाट जनकपुर पुगेका उनलाई विमानस्थल र प्रदेश प्रमुख कार्यालयमा भव्य स्वागत गरिएको थियो ।
पदभार ग्रहणपछि उनले मधेश प्रदेशका समस्या र चुनौतीबारे आफू परिचित रहेको र सबैसँग समन्वय र सहकार्य गर्दै प्रदेश विकासमा भूमिका खेल्ने बताए ।
यसअघि निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो ।
सोही कार्यलाई अमर्यादित भन्दै उनलाई पदमुक्त गरी डा. लाभलाई नयाँ प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।
डा. लाभलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पद तथा गोपनियताको शपथ गराएका थिए ।














