काठमाडौं, २६ कात्तिक। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन कार्य तीव्र रूपमा जारी छ ।
हालसम्म देशभर नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता थपिएका छन्, जसमा पुरुष १ लाख २२ हजार ७४०, महिला ८६ हजार ७८५ र अन्य २७ जना छन्।
निर्वाचन आयोगले असोज ९ गतेदेखि जेनजी समूहलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु गरेको हो, जुन कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
नागरिकता प्रमाणपत्र प्राप्त १८ वर्ष पूरा गरेका नागरिकहरूले बिहान ८ देखि बेलुकी ६ बजेसम्म नाम दर्ता गर्न सक्नेछन् ।
सेवाग्राहीको चाप व्यवस्थापनका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता हुने जिल्लाहरूमा १२ घण्टा दुई सिफ्टमा सेवा प्रवाह सुरु गरिएको छ ।
काठमाडौं उपत्यकामा थप १४ जना दर्ता कर्मचारी खटाइएका छन् भने अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले जनशक्ति थप्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।














