जनकपुर, २५ कार्तिक । जनकपुरस्थित मधेश भवन परिसरमा सात दलको संयुक्त आन्दोलनका क्रममा मंगलवार साझ प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा दुई जना प्रदेश सांसदसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
स्रोतका अनुसार आन्दोलनकारीहरूले मधेश भवनको गेटमा नाराबाजी गर्दै धर्ना दिइरहेका बेला प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको हो ।
त्यस क्रममा प्रहरीको प्रहारबाट नेपाली कांग्रेस मधेश प्रदेशसभा सचेतक कुँवरकान्त झा र जनमत पार्टीका सांसद सञ्जय यादव घाइते भएका छन् ।
सांसद झा र यादवलाई तत्काल उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको बताइएको छ । दुबै जनाको अवस्था सामान्य रहेको स्रोतले जनाएको छ ।
आन्दोलनका क्रममा अन्य रामबिनोद चौधरी, ज्ञानेन्द्र झा, बिरेन्द्र यादव, पत्रकार सुरेन्द्र यादव, आदर्श मण्डल, बिद्धान्त झा, युवराज मिश्र, रामेश्वर मण्डल लगायतका व्यक्ति पनि लाठीचार्ज र अश्रुग्यासको असरबाट घाइते भएका छन् ।














