जनकपुर, २९ असोज । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै लोसपा नेता जितेन्द्र प्रसाद सोनलले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्।
पाँच राजनीतिक दलका नेताहरू ५६ प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पुगेर सोनललाई मुख्यमन्त्री बनाउने दाबी प्रस्तुत गरेका हुन्।
मंगलवार मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भण्डारीले आज दिउँसो ४ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेकी थिइन्।
त्यसपछि पाँच दलको गठबन्धनले औपचारिक रूपमा सोनलको नेतृत्वमा सरकार गठनको दाबी गरेको हो। गत राति र आज बिहान बसेको पाँच दलको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच छलफल गरी सहमति जुटाइएको हो।
बैठकमा लोसपाको नेतृत्वमा सरकार बनाउने निर्णय भएको र मन्त्रालयको भागबण्डाबारे भने अन्तिम टुंगो नलागेको गठबन्धन स्रोतले जनाएको छ।
सोनलको दाबीपछि अब प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारी गरेकी छन्।














