काठमाडौं, २८ असोज । कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रयोग गरी गरिएको आक्रमणमा संलग्न रहेको आरोपमा ‘कोब्रा सरकार’ नामको समूहका सन्नी भनिने भीम नेपालीसहित ११ जना पक्राउ परेका छन् ।
आइतबार राति शुभम् होटलमा भएको घटनामा डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ निवासी ३२ वर्षीय गौरव ऐर गम्भीर घाइते भएका थिए ।
उनलाई भारतको रुद्रपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गरिँदैछ । प्रहरीले जनाएअनुसार आक्रमणबाट ऐरको हातको औँला काटिएको छ भने टाउको र घाँटीमा गम्भीर चोट लागेको छ ।
कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार भीम नेपालीसहितका ११ जनालाई भारततर्फ भाग्ने प्रयासमा सीमावर्ती क्षेत्रमा पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्ति :
भीम नेपाली (उर्फ सन्नी), धनगढी उपमहानगरपालिका–२
अनुपम सिंह (१८), धनगढी उपमहानगरपालिका–२
मुस्कान सिंह (१८), धनगढी उपमहानगरपालिका–२
बबिन सिंह (२०), धनगढी उपमहानगरपालिका–२
गोपाल भट्ट (२६), धनगढी उपमहानगरपालिका–२
प्रिन्स सिंह (१८), धनगढी उपमहानगरपालिका–२
विशाल बोहरा (१८), धनगढी उपमहानगरपालिका–३
किरण महरा (२३), कञ्चनपुरको कृष्णपुर नगरपालिका–९
गोविन्द बलायर (२६), कृष्णपुर नगरपालिका
दिनेश बिक (३२), पुनर्वास नगरपालिका–१०
अनिल बिक (३२), पुनर्वास नगरपालिका
प्रहरीका अनुसार, घटनामा संलग्न चार जना अझै फरार छन् र उनीहरूको खोजी भइरहेको छ ।
डीएसपी सिंहले पक्राउ परेकाहरू ‘कोब्रा सरकार’ नामको अपराधिक समूहमा आवद्ध रहेको र उनीहरू कैलाली क्षेत्रमा लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहँदै आएको जनाए ।
सोही समूहका सदस्यहरूले गत वर्ष २२ फागुनमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेका थिए, जसमा चौधरी गम्भीर घाइते भएका थिए ।
पीडित गौरव ऐरका तर्फबाट किटानी जाहेरी दिइएपछि यसपटक प्रहरीले कारबाहीलाई तीव्र बनाएको हो। घटनाको स्पष्ट कारण भने हालसम्म सार्वजनिक गरिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।














