काठमाडौं, २८ असोज । जेनजी आन्दोलनप्रति राज्यका तर्फबाट भएको दमनमा संलग्न जिम्मेवार व्यक्तिहरूमाथि फौजदारी अनुसन्धान हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता गरिएको छ ।
सिन्धुपाल्चोक निवासी युवराज पौडेलले दायर गरेको रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय खारेज गर्नुपर्ने माग पनि समावेश गरिएको छ ।
साथै, आन्दोलनको क्रममा दमनमा प्रत्यक्ष संलग्न रहेका चार व्यक्तिमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन आदेश दिन आग्रह गरिएको छ ।
रिटमा पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक (आईजीपी) र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई दोषी ठहर गरी उनीहरूविरुद्ध फौजदारी अनुसन्धान गर्न अदालतसँग माग गरेका छन् ।
उनले निवेदनमा लेखेका छन्, “यदि सरकारले वा कुनै मन्त्रालयले यस्ता कार्यका लागि बाधा पुग्ने निर्णय लिएको भए, ती निर्णयहरू सार्वजनिक गराई खारेज गरियोस् ।“














