जनकपुर, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीको नेतृत्वमा आन्तरिक लोकतन्त्रको अभाव रहेको गम्भीर आरोप लगाउँदै पार्टी यथास्थितिमा रहे पतनको बाटोमा जाने चेतावनी दिएका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री सिंहले आफूमाथि गरिएको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै राजीनामाको घोषणा गरे । उनले पार्टीले उनलाई कुनै जानकारी नदिई सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्री पदबाट हटाएको जानकारी सामाजिक सञ्जालमार्फत मात्र थाहा पाएको गुनासो गरे ।
“एक वचन नसोधी समर्थन फिर्ता लिइयो“
“मलाई एक वचन पनि नसोधीकन सरकारबाट समर्थन फिर्ता लिएको र मलाई सरकारबाट फिर्ता बोलाएको एउटा पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति बनाइयो ।
त्यो पत्र मेरोविरुद्ध प्रपञ्च गर्ने भाष्यको एक अध्याय थियो,“ उनले भने । मुख्यमन्त्री सिंहले जनमत पार्टीको केन्द्रीय नेतृत्व र संसदीय दलका नेताले एकल निर्णय गरेको भन्दै आपत्ति जनाए ।
उनले आफू पार्टीकै निर्देशनमा मन्त्री नियुक्त गर्न र हटाउन बाध्य भएको तर अन्ततः त्यही निर्णयको दोष आफूमाथि थोपरेको आरोप लगाए ।
“पार्टीकै निर्देशनमा मन्त्री बनाएको, हटाएको – अब दोषचाहिँ मलाई“
“म मुख्यमन्त्री भएपछि पार्टीकै निर्देशनमा राज्यमन्त्री नियुक्त गरेँ र पार्टीकै निर्देशनमा हटाएँ । तर त्यस विषयमा आफ्नो गल्ती ढाकछोप गर्न पार्टी र नेतृत्वले मलाई स्पष्टीकरण मागेर चरित्र हत्या ग¥यो,“ उनले गुनासो गरे ।
बजेटमा टुक्रे योजनाको समर्थन गरेको आरोप
मुख्यमन्त्री सिंहले पर्यटन मन्त्रालयअन्तर्गत ५–५ लाखका टुक्रे योजना बजेटमार्फत पारित गरिँदै गर्दा पार्टी अध्यक्ष डा. सीके राउतलाई जानकारी गराए पनि उनले उल्टै यस्ता कार्यलाई प्रोत्साहन दिएको आरोप लगाए ।
“मैले पर्यटन मन्त्रालयमा बजेटलाई टुक्रे योजना बनाइ ५÷५ लाख बजेट राख्ने कार्य भइरहेको भन्दै पार्टी अध्यक्षलाई जानकारी गराएँ, तर उल्टै मलाई आरोपको सिकार बनाइयो र यस्ता कार्य गर्नेलाई प्रोत्साहन गरियो ।
त्यसैले स्पष्ट हुन्छ—कसको निर्देशनमा टुक्रे योजना आएको हो,“ उनले भने । मुख्यमन्त्री सिंहको यस्तो कडा अभिव्यक्तिपछि जनमत पार्टीभित्रको शक्ति संघर्ष र आन्तरिक असन्तोष झनै सतहमा आएको देखिएको छ ।
आगामी दिनमा यसले पार्टीको सुदृढता वा विघटन कतातिर लान्छ, हेर्न बाँकी छ ।














