काठमाडौं, २८ असोज । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसहित तीन नयाँ राजनीतिक दलसँग थप कागजात माग गरेको छ ।
आयोगमा हालै चारवटा नयाँ दल दर्ताका लागि आवेदन पुगेका छन् । तीमध्ये श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीले पेश गरेका कागजात अपूर्ण रहेको भन्दै आयोगले थप विवरण मागेको हो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ अनुसार दल दर्ताका लागि दलको विधान, झन्डा, चुनाव चिह्नको नमुना, केन्द्रीय समिति गठन (कम्तीमा २१ सदस्यीय), पाँच सय जना मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धतापत्र तथा उनीहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नुपर्छ ।
आयोगका अनुसार श्रम संस्कृति पार्टीसँग विधानका केही प्रावधान स्पष्ट नदेखिएको भन्दै थप विवरण मागिएको छ भने उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीले पेश गरेका पाँच सय हस्ताक्षर अपूर्ण देखिएको कारण थप सनाखतसहितका कागजात मागिएको हो ।
उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले पाँच सय हस्ताक्षर पूरा नभएको र हस्ताक्षरकर्ताहरूको सनाखत आवश्यक भएको जानकारी दिइन् । उनले भनिन्, “अब पाँच सय जनाको सनाखत गर्नुपर्ने भएकाले हामी तयारीमा छौं।“
यता, जनमत पार्टी विभाजन भएर गठन गरिएको जनस्वराज पार्टीको दर्ता प्रक्रिया भने सुचारु रुपमा अगाडि बढिरहेको आयोगले बताए ।














