काठमाडौँ, ८ असोज । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षा सुदृढ बनाउने उद्देश्यले हरेक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरेका छन् ।
पुनले सामाजिक सञ्जालमार्फत मन्त्रालयमा उठेका विषयलाई सम्बोधन गर्दै तीनवटा तत्काल लागु गर्न सकिने निर्णय सार्वजनिक गरेका छन् ।
निर्णयहरु यसप्रकार छन् :
१. कम्प्युटर शिक्षा सबैको पहुँचमा
देशभरका सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले हरेक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थपिने।
२. परीक्षाफल ढिलाइ अन्त्य गर्ने व्यवस्था
केही विश्वविद्यालयहरुले परीक्षाफल प्रकाशनमा ८ महिना देखि १ वर्षसम्म लगाउने गरेको पाइएकाले अब तीन महिनाभित्र अनिवार्य रूपमा नतिजा प्रकाशन गर्न निर्देशन दिइने। समयसीमा नमान्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिने चेतावनीसमेत मन्त्री पुनले दिएका छन् ।
३. त्रिभुवन विश्वविद्यालय परिसर सरसफाइ
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा रहेको झाडी र फोहर हटाई (ठूला रुख भने नकटाई) आकर्षक बगैंचा र फुटपाथ निर्माण गरिने। यसले विश्वविद्यालयलाई वातावरणीय रूपमा स्वच्छ र भौतिक रूपमा व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।














