पोखरा, २१ भदौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) केन्द्रित अभियान पोखराबाट पुनः सुरु गरेको छ ।
जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाका कारण जेठ १० गते पोखरामा स्थगित भएको थियो । शनिवार दिउँसो रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गरिएको छ ।
शिक्षकसमेत रहेका खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उनका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता भएका थिए । उनका अन्य सन्तान शर्मिला खनाल र सुदीप खनाल अहिले माओवादी केन्द्रमा सक्रिय छन् ।
माल्यार्पण कार्यक्रममा शहीद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उपस्थित थिइन् । जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सात जना शहीद र एक जना बेपत्ता भएका थिए ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको भन्दै प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको बताए ।














