जनकपुर, १९ भदौ । महोत्तरीको पिपरा गाउँपालिका–६, रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा दिइने खाजामा छेपारो भेटिएको घटनापछि ६० जना विद्यार्थीलाई अस्पताल लगिएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोका अनुसार एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो भेटिएको थियो । उक्त विद्यार्थीले खाजा फालेर घर फर्केपछि अभिभावकलाई बताएको हो ।
समाचार फैलिएपछि खाजा खाएका अन्य विद्यार्थीहरू वाकवाकी भएको अनुभव गर्न थाले । त्यसपछि विद्यालय र अभिभावकले उनीहरूलाई तत्काल प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना भएको छ ।
अध्यक्ष महतोले कुनै विद्यार्थीलाई गम्भीर समस्या नदेखिए पनि सुरक्षा सतर्कता अपनाएर अस्पताल ल्याइएको बताए । प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्ष इन्चार्ज शरद यादवका अनुसार बालबालिकामा स्वास्थ्यसम्बन्धी कुनै असामान्य लक्षण देखिएको छैन। तर अभिभावकको आग्रह र सतर्कताका लागि निगरानीमा राखिएको उनले जानकारी दिए ।














