काठमाडौँ, १८ भदौ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने योजनामा संलग्न भएको आरोपमा दायर मुद्दा जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा तोकिएको छ ।
झण्डै दुई वर्षदेखि विचाराधीन यो मुद्दा आजदेखि पुनः सुनुवाइ प्रक्रियामा अघि बढ्ने भएको हो । हालसम्म यस प्रकरणमा साक्षी बयान र बकपत्रसम्बन्धी कार्य सकिएपछि अदालतले यसलाई नियमित पेशी सूचीमा समावेश गरेको हो ।
यसअघि जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रारम्भिक प्रमाणका आधारमा पक्राउ परेकालाई कसुरमा संलग्न देखाउँदै थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको थियो ।
पछिल्लो चरणमा केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारिखमा रिहा भएका छन् भने केही अझै जिल्ला तथा उच्च अदालतको आदेशअनुसार कारागारमै छन् ।














